हेटौंडा १३ मा जसपासहित ३ दलीय गठबन्धन
हेटौंडा उपमहानगरपालिका १३ मा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी बीच तालमेल गरेर चुनावमा जाने सहमति भएको छ ।
हेटौंडा १३ को वडा अध्यक्ष नेपाली कांग्रेस र २/२ वडा सदस्य जसपा र एकीकृत समाजवादीले पाउने गरि गठबन्धन भएको छ । मनोनयन दर्ताको लागि तोकिएको आज अन्तिम दिनमा हेटौंडा १३ मा भने ३ दलले भागबण्डा मिलाएर वडा अध्यक्ष र सदस्यहरु छानिएको छ ।
वडामा कांग्रेसका आइमान सिंह मोक्तान, जसपाको तर्फबाट खुल्ला सदस्य उत्तम गोम्जा, महिला सदस्य रन्जु गोम्जा त्यस्तै एकीकृत समाजवादीको तर्फबाट खुल्ला सदस्य धावा लामा र दलित महिला सदस्य सानु माया नेपालीसहितको उम्मेदवार चुनेर निर्वाचनमा जाने सहमति भएको जसपा संघिय परिषद सदस्य शुभ रत्न गोलेले जानकारी दिए ।
यो गठबन्धनले हेटौंडा १३ को पदमपोखरीमा संयुक्त निर्वाचन प्रचार-प्रसार कार्यालय खोलि चुनावी अभियान सुरु गर्ने गोलेले बताएका छन् ।
जिल्लामा जसपा ५ दलीय गठबन्धनबाट बाहिरिएको छ । भागबण्डा नमिलेपछि आज हेटौंडा उपमहानगरपालिकाको मेयरमा दिपा लामा र उपमेयरमा हरिहर खतिवडाको उम्मेदवारी दर्ता भएको छ ।


