पूर्वी युरोपका सात मुलुकमा श्रम स्वीकृति शर्तसहित खुला

हेटौंडा खबर
April 6th, 2022

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वी युरोपका सात मुलुकमा व्यक्तिगत श्रम स्वीकृतिमा जाने श्रम स्वीकृति शर्तसहित खुला गरेको छ ।

क्रोयसिया, अल्वानिया, पोल्याण्ड, स्लोभाकिया, हंगेरी, माल्दोभा र बेलारुसमा व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीहरू अलपत्र परेको सूचना प्राप्त भएको भन्दै मन्त्रालयले ती मुलुकमा वैदेशिक रोजगारीमा जाने श्रम स्वीकृति केही दिन अघिबाट स्थगन गरेको थियोे ।

मन्त्रालयले ती मुलुकमा रोजगारीमा जान रोकिएको श्रम स्वीकृति पुनः शुरु गरिएको बताउँदै व्यक्तिगत श्रम स्वीकृति लिई जाने प्रक्रियालाई व्यवस्थित गरिएको जनाएको छ ।

मन्त्रालयले आगामी २०७९ वैशाख १ गतेदेखि व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति लिने प्रक्रियासम्बन्धी निर्देशिका–२०६९ को दफा ३ मा उल्लेख भएअनुसार नेपाली राजदूतावास वा नियोगबाट प्रमाणीकरण भएका मागपत्रमा मात्र श्रम स्वीकृति दिने निर्णय भएको बताएको छ ।

मन्त्रालयले २०६९ साल भदौ ११ मा व्यक्तिगत श्रम स्वीकृतिसम्बन्धी निर्देशिका जारी गरेकोे थियो । व्यक्तिगत मागपत्र प्रमाणीकरणको प्रक्रिया अपनाउनुपर्ने राष्ट्रहरुको सूचीमा हाल साउदी अरेबिया, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् ।

मन्त्रालयले उक्त सूचीमा पूर्वी युरोपेली मुलुकहरू क्रोयसिया, अल्वानिया, पोल्याण्ड, स्लोभाकिया, हंगेरी, माल्दोभा र बेलारुसलाई समेत थप गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*