युक्रेनको विषयमा बाइडेन र मोदीबीच आज वार्ता हुँदै

हेटौंडा खबर
April 11th, 2022

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज (सोमबार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भर्चुअल बैठकमा कुरा गर्ने भएका छन्। युक्रेनमा रुसको आक्रमण बिरूद्ध कडा लाइन लिन विश्व नेताहरूलाई दबाब दिइरहेका बेला बाइडेनले मोदीसँग समेत वार्ता गर्न लागेका हुन्।

रुसको आक्रमणप्रति भारतले तटस्थ अडान राखेको छ। युक्रेनमा अधिकार उल्लङ्घनको आरोपमा ४७ सदस्यीय मानवअधिकार परिषद्को सिटबाट रुसलाई निलम्बन गर्न संयुक्त राष्ट्रसङ्घको महासभाले गत बिहीबार मतदान गर्दा ५८ सदस्यहरू अनुपस्थित थिए, जसमा भारत पनि थियो।

ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले आइतबार एक विज्ञप्ति जारी गर्दै ‘बाइडेनले मोदीसँग युक्रेनमा जारी युद्धको नतिजा, विश्वव्यापी खाद्य आपूर्ति र कमोडिटी बजारमा यसको अस्थिर प्रभावलाई कम गर्नेबारे,’ कुरा गर्ने बताएकी छन्।

यस्तै दुवै नेताहरूले ‘इन्डो-प्यासिफिक क्षेत्रको सुरक्षा, लोकतन्त्र र समृद्धिलाई सुदृढ गर्न स्वतन्त्र, खुला नियमहरूमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था लाई कसरी कायम राख्ने भन्ने विषयमा पनि छलफल गर्ने,’ ह्वाइट हाउसले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*