आचारसंहिता उलंघन गर्नेसँग धमाधम स्पष्टीकरण माग्दै निर्वाचन आयोग

हेटौंडा खबर
May 5th, 2022

निर्वाचन आयोगले नेपाली कांग्रेस पार्टीसँग तीन दिनभित्र जानकारीसहितको जवाफ माग गरेको छ। ललितपुर कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिको नामबाट “ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रूख चिह्नमा मतदान गरौँ” शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिन आएकाले सो पर्चा राखेको हो वा होइन भनी आयोगले कांग्रेससँग जवाफ माग गरेको हो।

आयोगको पत्रमा भनिएको छ– “उक्त सामग्री निर्वाचन आचारसंहिता २०७८ को दफा ४ को देहाय (ठ) र (ढ) विपरीत देखिएकाले सो पर्चा सामाजिक सञ्जाल तथा अन्य स्थानबाट तुरुन्त हटाइ सो सम्बन्धमा स्पष्ट गरी ३ (तीन) दिन भित्र जवाफ उपलब्ध गराइ दिन हुन आदेशानुसार अनुरोध गरिन्छ।” आचारसंहिता कार्यान्वयन गर्ने प्रतिबद्धता सो दलले यसअघि गरिसकेको सन्दर्भमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयमुक्त बनाउनेतर्फ आयोगले पुन: स्मरण गराएको छ।

यसैगरी निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) काठमाडौंसँग पनि जवाफ माग गरेको छ।”त्यस दलको तर्फबाट कलैया उपमहानगरपालिका–२३ का वडा अध्यक्ष विक्रम साह लगायतका व्यक्तिहरूले माओवादी केन्द्रको चुनाव चिह्न अङ्कित टिसर्ट सहित प्रचारमा देखिएको समाचार सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सो कार्य त्यस दलबाट भएको हो होइनु भनी आयोगले जवाफ माग गरेको हो।

‘सो दलले निर्वाचन आचारसंहिता २०७८ को दफा ४ को खण्ड ९घ० विपरीतको कार्य गरेको देखिँदा त्यस दललाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारबाही नगर्ने भन्ने विषयमा तीन दिनभित्र आधार प्रमाणसहित आयोगलाई स्पष्ट गरी जवाफ उपलब्ध गराइ दिन हुन आदेशअनुसार अनुरोध गरिन्छ’ पत्रमा उल्लेख छ।

केशव स्थापित र अन्य उमेदवारहरूसँग पनि सोधियो– स्पष्टीकरण

नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उमेदवार केशव स्थापितले गत आइतबार बोल्नुभएको विषयप्रति निर्वाचन आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महानगर प्रमुखका अर्का उमेदवार बालेन साहका बारेमा “एउटा फुच्चे भन्ने बालेन साह रहेछ, ऊ त अन्तर्राष्ट्रिय ठग रहेछ।।।” भन्ने अभिव्यक्तिप्रति आयोगले स्थापितसँग २४ घण्टे स्पष्टीकरण पेश गर्न भनेको छ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ र १३ साथै स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ३१ र ३२ बमोजिमको योग्यता पुगेको व्यक्ति उमेदवार हुन पाउने व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ।स्थापितले बोलेको विषय निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (ढ) र खण्ड (थ) मा रहेको व्यवस्था साथै दफा १२ (प) अनुकूल नभएको आयोगले जनाएको छ।

मेलम्ची नपा–१० का वडाअध्यक्ष उमेदवारलाई स्पष्ट पार्न पत्र

मतदाताको पाउमा एक हजारको नोट राखेर भोट माग्दै गरेको फोटोसहितको समाचार सञ्चार माध्यममा प्रकाशन–प्रसारण भएपछि आयोगले मेलम्ची नगरपालिका १० का अध्यक्ष पदका उमेदवार अमृत खनालसँग स्पष्टीकरण माग गरेको हो।

“तपाईंले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको फोटोसहितको समाचार सञ्चार माध्यम र सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सो कार्य भएको हो होइन ? निर्वाचन आचारसंहिता २०७८ मा मतदातालाई प्रभाव पार्ने गरी कुनै किसिमको गतिविधि गर्न नपाइने भन्ने व्यवस्था रहेकाले त्यस्तो कार्य तत्काल रोक्न निर्देशन दिइएको छ– पत्रमा भनिएको छ ।

वडा अध्यक्षका उमेदवार खनालले आचारसंहिता प्रतिकूल र निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम तपाईलाई किन कारवाही नगर्ने ? भन्दै आधार प्रमाणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले भनेको छ ।

बागमती प्रदेशकी मन्त्रीलाई पनि स्पष्टीकरणको पत्र

निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ।मन्त्री मोक्तान चुनावी प्रचार प्रसारमा निरन्तर खटिएको फोटोसहितको समाचार सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन तथा सम्प्रेषण भएपछि उहाँलाई त्यसबारेमा के भएको हो आधार प्रमाणसहित आयोगलाई स्पष्ट गर्न अनुरोध गरेको छ ।

आयोगको पत्रमा भनिएको छ, “तपाईँ निर्वाचन आचारसंहिता २०७८ को दफा ५ को खण्ड ९क० विपरीतको कार्य गरेको देखिँदा तपाईंलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम किन कारबाही नगर्ने रु भन्ने विषयमा २४ घण्टा भित्र आधार प्रमाणसहित आयोगलाई स्पष्ट गरी स्पष्टीकरण दिन हुन आदेशअनुसार अनुरोध गरिन्छ।

तिलोत्तमा नपा प्रमुख घिमिरेसँग पनि जवाफ माग

तिलोत्तमा नगरपालिका रुपन्देहीका प्रमुख वासुदेव घिमिरेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।दलीय चुनावी प्रचार प्रसारमा खटिएको फोटोसहितको समाचार सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन तथा सम्प्रेषण भएपछि आयोगले उनलाई २४ घण्टाको समय दिएर स्पष्टीकरण पेश गर्न आदेशअनुसार अनुरोध गरेको हो ।

आयोगको पत्रमा भनिएको छ, “निर्वाचन आयोगलाई चुनौती दिएको अभिव्यक्ति तपाईँको हो होइन हो भने संवैधानिक आयोगको गरिमा घट्ने गरी त्यस्ता अभिव्यक्ति नदिन र निर्वाचन आचारसंहिता विपरीतका कार्य नगर्न नगराउन निर्देशन दिइएको छ।”

प्रधानाध्यापक पाण्डेसँग आयोगले माग्यो जवाफ

नेपाल राष्ट्र आधारभूत विद्यालय कपिलवस्तुका प्रधानाध्यापक प्रल्हाद पाण्डे दलीय चुनावी प्रचार प्रसारमा संलग्न रहेको भन्दै निर्वाचन आयोगले तीन दिनभित्र जवाफ पेश गर्न आदेश गरेको छ।पाण्डे चुनावी प्रचार प्रसारमा संलग्न रहेको फोटोसहितको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि आयोगले उनीसँग जवाफ माग गरेको हो।”तपाईं कपिलवस्तु नगर प्रमुखका एमाले उमेदवार कुनाल प्रताप शाहको प्रचार प्रसारमा खटिएको समाचार सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हुन आएकोले सो कार्य भएको हो वा होइन ?” भनी आयोगले जवाफ माग गरेको छ ।

पत्रमा भनिएको छ, “आचारसंहिता २०७८ को दफा ९ को खण्ड (क) विपरीतको कार्य भएको देखिँदा तपाईलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम किन कारबाही नगर्ने रु सो विषयमा तीन दिनभित्र आधार प्रमाणसहित आयोगलाई स्पष्ट गरी जवाफ उपलब्ध गराइ दिनुहुन आदेशअनुसार अनुरोध गरिन्छ।”

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*