हेटौंडामा शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप : आजको खेलमा चर्च ब्वाइज विजयी

हेटौंडा खबर
June 3rd, 2022

चर्च ब्वाइज क्लब हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति फुटबल प्रतियोगिता–२०७९ को दोस्रो चरणमा प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा जारी प्रतियोगितामा भरतपुर एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज विजयी भएको हो ।

भरतपुरमाथि सहज जीत हासिल गर्न चर्च ब्वाइजका लागि आशिष चौधरीले २ र हेमन्त थापा मगरले दुई गोल गरेका थिए । खेलमा दुई गोल गरेको आशिष म्यान अफ दी म्याच घोषित भएका थिए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा स्थानीय तहको सहयोगमा जारी प्रतियोगिताअन्तर्गत् शनिबार सशस्त्र प्रहरीको (एपीएफ) र फ्रेण्डस क्लब काठमाडौंवीच प्रतिस्पर्धा हुनेछ ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा विभागीय क्लबहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, नव जनजागृति क्लब सिमरा, बागमती युवा क्लब सर्लाही, विजय युथ क्लब हेटौंडा, चितवन-११, चर्च ब्वाइज क्लब र अन्तर्राष्ट्रिय क्लब क्यामरुनको एभिनियर एफसी सहभागी रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक प्रदान गरिने छ भने विधागत उत्कृष्ट खेलाडीलाइ २५ हजार र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक जिल्लाका १० स्थानीय तह र जिल्ला समन्वय समिति रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*