सुनसहित त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना विदेशी र पाँच जना नेपाली पक्राउ
अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना विदेशी र पाँच जना नेपाली पक्राउ परेका छन्।
प्रहरीले ८८६ ग्राम सुनसहित बाराकी २२ वर्षीया निर्मला घलान, धनुषाका ४१ वर्षीय बरुण भक्त माथेमा (राहुल), नवलपरासीका ४२ वर्षीय युवराज भुषाललाई पक्राउ गरेको हो।भारतीय नागरिक ५१ वर्षीय अमन राजपुत, चिनियाँ नागरिक २७ वर्षीय लोब्सान ग्याल्सेन, कपिलवस्तुका सन्दिप चन्द ठकुरी र गुल्मीका सुरेशबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरु दुबईबाट नेपाल वायुसेवा निगमको फ्लाइट नं. आरए २३० को जहाजबाट काठमाडौं अवतरण गरेका थिए। गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा सुन बरामद भएपछि उनीहरु पक्राउ परेका हुन्।
उनीहरुले कपडामा लुकाएर सुन ल्याएका हुन्। सुरेश र सन्दिपले सुन लेपन गरेको कपडा लगाएका थिए। प्रहरीले सर्ट, पाइन्ट र अण्डरवेयरको भित्री भागमा लेपन गरिएको सुनको धुलो सुन ८ घण्टा भट्टीमा पकाएर संकलन गरेको हो।


