हेटौंडाको मेयरमा कांग्रेसबाट आनन्दराम पराजुलीसहित ३ जनाको नाम सिफारिस
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हेटौंडानगर प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट ३ जनाको नाम सिफारिस गरिएको छ। सोमबार बसेको कांग्रेस हेटौंडानगर कार्य समितिको बैठकले हेटौंडाको मेयरका लागि आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो।
त्यसैगरी उपप्रमुखमा पनि ३ जनाको नाम सिफारिस गरिएको छ। अमृता थापा इन्दिरा न्यौपाने र तारा राई कार्कीको नाम उपमेयरका लागि सिफारिस गरिएको छ।
नगर कार्य समितिले प्रमुख र उपप्रमुखको नाम कांग्रेस मकवानपुर क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिलाई सिफारिस गरिएको कांग्रेस हेटौंडानगर सभापति उत्सव इटेनीले जानकारी दिए ।
नगर प्रमुखमा सिफारिस भएका पराजुली २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडानगर प्रमुखमा झिनो मतान्तरले पराजित भएका थिए।
पराजुली हेटौंडानगर निवर्तमान सभापतिका साथै प्रभावशाली नेताका रुपमा चिनिन्छन्।
साथै नगर कार्य समितिको बैठकले हेटौंडा उपमहानगरको प्रमुखको नेतृत्व कांग्रेसले पाउनुपर्ने निर्णय समेत गरेको छ।


