नौ महिनामा भित्रियो ५८ लाख मोबाइल सेट

हेटौंडा खबर
April 22nd, 2022

चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि पुससम्ममा विभिन्न देशहरूबाट करिब ५८ लाख मोबाइल सेट आयात भएको छ।

सो परिमाणको मोबाइल भित्र्याउन २९ अर्ब ६४ करोड रूपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा करिब ८ लाख वटा मोबाइल सेट बढी आयात भएको विभागको तथ्यांकले देखाउँछ।

तथ्यांकअनुसार गत साउनदेखि चैतसम्ममा ५० लाख मोबाइल सेट भित्रिएको थियो। सो परिमाणका मोबाइलको लागि नेपालबाट ३४ अर्ब ९७ करोड रूपैयाँ बाहिरिएको छ।ग्रामीण क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार तथा सेवा पुग्न थालेपछि विकट क्षेत्रमा पनि मोबाइल फोन सेवाको उपयोग तीव्र रूपमा भइरहेको छ।

सो अवधि आयात हुने फोनमध्ये अधिकांश चिनियाँ छन्। चीनबाट २० अर्ब ६२ करोड मूल्य बराबरको ३९ लाख ३८ हजार वटा मोबाइल सेट आयात भएको हो।त्यस्तै, दोस्रोमा भारतबाट १२ अर्ब १५ करोड मूल्य बराबरको ८ लाख ५९ हजार र र तेस्रोमा भियतनामबाट एक अर्ब ४९ करोड मूल्य बराबरको एक लाख ७२ हजार मोबाइल सेट आयात भएको छ।  बाँकी परिमाणका फोन भने अन्य विभिन्न देशबाट आएका छन्।

मोबाइल इम्पोर्ट व्यवसायी संघका अध्यक्ष दीपक मल्होत्राले अधिकांश ब्रान्डेड मोबाइल चीनमा उत्पादन भएर संसारभरि नै बिक्री-वितरण हुने गरेको जानकारी दिए। एप्पल, सामसङजस्ता अमेरिकी र कोरियन मोबाइल पनि चीनबाट आयात हुने गरेको उनको भनाइ छ।

अधिकांश बहुराष्ट्रिय मोबाइल कम्पनीले चीन, भियतनाम र भारत जस्ता प्राविधिक श्रम शक्ति सस्तो भएको देशमा उत्पादन केन्द्र खोलेको मल्होत्रा बताउँछन्। फलस्वरूप, ती देशबाट सबैभन्दा बढी मोबाइल सेट आयात भएको हो।

दक्षिण एशियाको चाहना अनुरूपका मोडलहरू ती देशमा बन्ने भएकाले पनि चिनियाँ फोन बढी आयात हुने गरेको उनको ठम्याइ छ। साथै, ती देशबाट नेपालमा व्यापार गर्न सहज पनि छ। ‘चीनमा सबै किसिमका मोबाइल बन्ने र तुलनात्मक रूपमा सस्तो पनि भएकाले बढी आयात हुने गरेको छ,’ उलने भने।

सबैभन्दा महंगा र ब्रान्डेड मोबाइल हङकङ, दुबई, थाइल्याण्ड अमेरिका तथा युरोपेली मूलुकबाट आउने गरेका छन्। तीमध्ये व्यक्तिगत प्रयोगका लागि आउने भएकाले भन्सार विभागको तथ्यांकमा उपलब्ध छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*