यातायात मन्त्रालयको निर्णय व्यवसायीको पक्षमा देखियो
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, बागमती प्रदेशले २० बर्से पुराना गाडीको स्क्र्याब गरेको नम्बर प्लेटमा विद्युत्बाट चल्ने नयाँ ट्याक्सी किनेर दर्ता गर्न दिने निर्णय गरेको छ । मन्त्रालयले सट्टापट्टामा पेट्रोलबाट चल्ने ठाउँमा विद्युत्बाट दिने तयारी भएको जनाएको छ ।
मन्त्रालयका सचिव नेत्र सुवेदीले पुराना, थोत्रा र २० वर्ष नाघेका ग्यास ट्याम्पो, माइक्रोबस र ट्याक्सीको स्क्र्याब गरेको नम्बर प्लेटमा विद्युतीय ट्याक्सी दिने निर्णय भएको बताए । नयाँ ट्याक्सीको दर्ता खोलेर सिन्डिकेट तोड्नुपर्ने बेलामा मन्त्रालयले यातायात व्यवसायीको पक्षमा निर्णय गरिदिएको छ ।मन्त्रालयले नयाँ दर्ता खोल्नुको साटो फेरि पनि स्क्र्याब गरेको नम्बर प्लेटमा ट्याक्सी दिन लागेको हो । जसको कारण फेरि पनि ट्याक्सी व्यवसायीको विकृति मौलाउने देखिन्छ । नयाँ ट्याक्सीको दर्ता नखोलिदिँदा यात्रु ठगिने क्रमको अन्त्य नहुने भो । त्यसै गरी, राज्य पनि राजस्वविहीन हुन्छ । सरकारले नयाँ ट्याक्सीको दर्ता नखोल्दा नम्बर प्लेटकै मूल्य १२ लाख रुपियाँ पर्छ ।
हाल बजारमा एउटा ट्याक्सी किन्न पहिल्यै ३२ लाख रुपियाँ जुटाउनुपर्छ । महँगोमा ट्याक्सी किनेपछि आफ्नो लगानी उठाउन र नाफा कमाउन यात्रु ठग्नु स्वाभाविकै हो । सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्ने हो भने नम्बर प्लेट सित्तैमा पाउँछन् ।
जसले गर्दा ट्याक्सीको मूल्य २० लाख रुपियाँ पर्न जान्छ । ट्याक्सीको मूल्य सस्तो पर्नेबित्तिकै यात्रुलाई भाडा पनि सस्तो पर्न जान्छ ।यता, नयाँ व्यवसाय पनि भित्रिन पाउँछन् । मुलुककै स्वरोजगार भन्नेले सजिलै रोजगारीको अवसर पाउनेछन् । ट्याक्सीको संख्या बढ्छ भने यात्रुले आवश्यकता परेको बेलामा ट्याक्सी पाउँछन् । यो सुविधा भने उपत्यकाभित्र र बाहिर दुवैको हकमा लागू हुनेछ । ३८ वर्षअघि अटो शोरुमसँग गाडी किनेर ट्याक्सीमा दर्ता गरेका व्यवसायीले आफैँले चलाएर, भाडामा लगाएर दुई करोडभन्दा बढी कमाइसके ।
मन्त्रालयको अहिलेको निर्णयले फेरि पनि एउटै व्यक्तिले २० वर्ष व्यवसाय गर्ने देखिन्छ । पहिलेको ३८ वर्ष र अबको २० वर्ष गरेर ५८ वर्ष एउटै व्यक्तिले व्यवसाय गर्छ । तर, ट्याक्सीको संख्या बढ्दैन, जनसंख्या बढेर कहाँ पुगिसक्छ ।
गत वैशाख १ गतेदेखि ट्याक्सी भाडा बढाइएको छ । चढ्नेबित्तिकै फ्लगडाउनबापत ५० रुपियाँ तिर्नुपर्छ । त्यस्तै, प्रत्येक किलोमिटर ५० रुपियाँ तोकिएको छ ।राति ९–६ बजेसम्म भाडा र फ्लगडाउन दुवैको डेढीसहित ७५ रुपियाँ निर्धारण गरिएको छ । दैनिक पाँच करोड रुपियाँ कुनै सेवासुविधा नै नलिईकन यात्रुले तिरिरहेका छन् । न ट्याक्सीको पेट्रोल खर्च भएको हुन्छ, न यात्रुले कुनै सेवासुविधा पाएका हुन्छन् । यहाँबाट पनि यात्रु नै लुटिइरहेका छन् ।


