महिला विकास कार्यालय हटाइएकोमा आरजु देउवाको असन्तुष्टि

हेटौंडा खबर
April 27th, 2022

सत्तारुढ नेपाली काँग्रेसकी नेतृ डा. आरजु देउवाले महिलाहरूको उजुरी हेर्ने छुट्टै सरकारी निकाय जिल्ला जिल्लामा नभएकोमा असन्तुष्टि व्यक्त गरेकी छन् । नेतृ देउवाले महिलाहरूको समस्या समाधानका लागि जिल्ला जिल्लामा व्यवस्था गरिएको महिला विकास कार्यालय समेत हटाइएकोमा असन्तुष्टि जनाएकी हुन् ।

बुधबार ललितपुरमा आयोजित ‘घरेलु हिंसा कानुन कार्यान्वयनको अवस्था’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले महिला विकास कार्यालय जिल्ला जिल्लामा नहुँदा महिलाहरूमाथि हुने सबै प्रकारका हिंसा नियन्त्रण गर्ने काममा समेत एकदमै अप्ठ्यारो परिरहेको जिकिर गरिन् । नेतृ देउवाले घरघरमा गएर महिला, बालबालिका र ज्येष्ठ नागरिकहरूलाई सहज सेवा दिनका लागि हरेक स्थानीय तहमा सेवा केन्द्रहरूको स्थापना गर्ने कुरालाई सरकारले छलफलमा अघि बढाएको उल्लेख गर्दै त्यसको व्यवस्थापनमा ढिलाइ गर्न नहुने बताइन् । नेतृ देउवाले महिलाहरूको उजुरी हेर्ने नेपाल प्रहरीको महिला सेललाई पनि प्रभावकारी बनाउनुपर्ने जिकिर गरिन् ।

नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयकी प्रमुख एसएसपी किरण शर्माले पछिल्ला दिनहरूमा महिला हिंसाका घटना बढ्दै गएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरोकारवाला निकायहरूबीच बलियो सहकार्य हुनुपर्ने आवश्यकता औंल्याइन् । उनले महिला हिंसा हुने तर त्यसको उजुरी दिन पाउने अवसर समेत महिलाहरूले पाउने अवस्था नभएको पनि बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*