गठबन्धन भएको ठाउँमा स्वतन्त्र उम्मेदवारी फिर्ता लिन थापाको आग्रह

हेटौंडा खबर
April 27th, 2022

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले गठबन्धन भएका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिने नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । बुधबार काठमाडौंमा काँग्रेसको घोषणापत्रबारे गठबन्धनको निर्णय उल्लंघन भएको बताउँदै पार्टीमा विवाद भएपनि चुनावमा होमिइसकेपछि पार्टीको निर्णय मानेर जान आग्रह गरे ।

उनले भने–‘चुनाव अघि र चुनावपछि पनि पार्टीमा विवाद हुन्छ । तर चुनावमा होमिइसकेपछि पार्टीको निर्णय मानेर जानुपर्ने हुन्छ । अझै २ दिन समय छ । स्वतन्त्र उम्मेदवारी दिनेहरूलाई फिर्ता लिन आग्रह छ । तपाईहरुमाथि भएको अन्यायको एक एक हिसाव हुन्छ । अन्यायमा परेकाहरुलाई भोलिका दिनमा पार्टीले क्षतिपूर्ति दिनेछ । पार्टीको निर्णय नमानेर कारबाहीमा परेपछि अघि बढ्न गाह्रो हुने मसँग पनि अनुभव छ ।’

उनले काँग्रेस एक्लैले चुनाव लड्दा पनि अप्ठेरो रहेको र गठबन्धन बनाएपछि पनि अझै अप्ठेरो भएको बताए । लामो समयदेखि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि हुन्छु भनेर काम गरेका काँग्रेस नेता कार्यकर्ताहरूमा पीडा रहेको र पार्टीले त्यसलाई सम्वोधन गर्ने उनले बताए ।

थापाले पार्टीभित्रै पार्टीको निर्णय उल्लंघन गरेको उजुरी पनि आएको र पार्टीको निर्णय विपरित काम गरेकालाई चुनावपछि कारबाही र दण्ड दिइने समेत बताए । उनले स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता कार्यकर्तालाई  दुई दिनको समयभित्र उम्मेदवारी फिर्ता लिने बारेमा सोच्न आग्रह गरे ।​

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*