५३ पालिकाको मतपत्र दोहोर्‍याएर छापिँदै

हेटौंडा खबर
May 3rd, 2022

आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले ५३ वटा पालिकाको मतपत्र दोहोर्‍याएर छाप्नुपर्ने भएको छ। अपेक्षा गरेभन्दा धेरै स्वतन्त्र उम्मेदवार भएपछि मतपत्र दोहोर्‍याएर छाप्न लागिएको हो।

आयोगले ६ वटा महानगरबाहेक सबै स्थानको मतपत्र छापिसकेको थियो। तर उम्मेदवारको अन्तिम नामावली आउँदा स्वतन्त्र उम्मेदवार बढी भएपछि चिन्ह नै नपुग्ने भएकाले मतपत्र फेरि छाप्नु पर्ने भएको हो।

‘स्वतन्त्र उम्मेदवार हामीले अपेक्ष गरेभन्दा बढी भए’, आयोग स्रोतले भन्यो, ‘त्यसैले पहिला छापिएको मतपत्र काम नलाग्ने भए, नयाँ मतपत्र डिजाइन गरेर छाप्दैछौं।’

स्रोतका अनुसार दोहोर्‍याएर छाप्नुपर्नेमा धेरैजसो मधेश प्रदेशका गाउँपालिका र नगरपालिका रहेका छन्।

आयोगले दलका चुनाव चिन्हका साथै अरु चुनाव चिन्ह राखेर मतपत्र छापेर जिल्लामा ढुवानी गरिसकेको छ। आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छापिरहेको छ। आज बेलुकीसम्म सबै मतपत्र डिजाइन भएर जनक शिक्षालाई पठाइने स्रोतले जनाएको छ।

महानगरपालिकाको पनि मतपत्र छाप्न सुरु भइसकेको छ। उम्मेदवारको अन्तिम नामावली आएपछि उनीहरुको मात्रै चुनावचिन्ह राखेर मतपत्र छाप्ने भनिए पनि आयोगले अन्तिममा सबै चुनावचिन्ह राखेर मतपत्र छाप्न लागेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*