सत्तागठबन्धनले बागी उम्मेदवारी निष्क्रिय गराउन थप पहल गर्ने

हेटौंडा खबर
May 6th, 2022

सत्तागठबन्धनले बागी उम्मेदवारी निष्क्रिय गराउन अझै पहल गर्ने भएको छ। शुक्रबार गठबन्धनमा सामेल दलका सचिवालय पदाधिकारी र सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो।

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालयका संयोजक नानु बास्तोलाको अध्यक्षतामा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले निर्वाचनमा गठबन्धन दलबीच आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढ्नेलगायत पाँचबुँदे निर्णय गरेको छ।

‘गठबन्धनमा रहेका दलहरूबीच आपसी समझदारीमा दिइएका उम्मेदवारविरुद्ध गठबन्धनभित्रैका दलबाट दर्ता भएका उम्मेदवारी तत्काल निष्क्रिय गराउन आवश्यक पहल गर्न सम्बन्धित दलको नेतृत्वसमक्ष आग्रह गर्ने, यस्ता उम्मेदवारबारे हरेक दलले एक–अर्कालाई जानकारी गराउने,’ निर्णयमा भनिएको छ।

त्यस्तै, बैठकले निर्वाचनमा गठबन्धन दलबीच असमझदारी भएमा तथा गठबन्धनबाहेकका दलहरूसँग असझदारी उत्पन्न भएमा समस्या समाधान गर्न सचिवालय क्रियाशील रहने निर्णयसमेत गरेको छ।

बैठकमा नेपाली कांग्रेसबाट नानु बास्तोला, माओवादी केन्द्रबाट डोरप्रसाद उपाध्याय, एकीकृत समाजवादीका तर्फबाट लक्ष्मण केसी, जनता समाजवादी पार्टीबाट लालबहादुर तामाङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी सहभागी थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*