एमालेले लगाएका आरोपको प्रतिवाद गर्दै कांग्रेस

हेटौंडा खबर
May 9th, 2022

सत्तारुढ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूविरुद्ध लगाएका आरोपको प्रतिवाद गर्ने भएको छ।

एमालेले मतदाताका लागि जारी गरेको ६७ बुँदे अपिलमा आरोपै आरोप लगाएपछि कांग्रेसले पत्रकार सम्मेलन गरेर प्रतिवाद गर्न लागेको हो।

कांग्रेसले मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको सचिवालयले पत्रकार सम्मेलन एमालेले मतदाताका लागि जारी गरेको अपिलमा केन्द्रित हुने जनाएको छ।

एमालेले ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सोमबार पत्रकार सम्मेलन गरेर ६७ बुँदे अपिल जारी गरेको थियो।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ६७ बुँदे अपिलमार्फत एमालेले कांग्रेसविरुद्ध दर्जनौं आरोप लगाएर मतदाता रिझाउने प्रयास गरेको छ।

स्थानीय तह, प्रदेश र संघबीच उचित समन्वय र सहकार्य गर्दै संविधानको प्रभावकारी कार्यान्वयन गरिरहेका बेला कांग्रेसको षड्यन्त्र चरम उत्कर्षमा पुगेको आरोप लगाउँदै एमालेले आक्रोश पोखेको छ।

कांग्रेसले सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्यबोधका कमजोर रहेका तत्वहरूलाई खोजेर राजनीति र देश हितविपरीत बाटो समातेको एमालेको आरेप छ।

कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममै प्रहार गरेर संसदीय मूल्य र मान्यतालाई नै कुल्चिएको आरोप एमालेले लगाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*