सुरक्षाकर्मीकाे साढे ६ अर्ब भत्ता स्वीकृत

हेटौंडा खबर
२९ बैशाख २०७९, बिहीबार १३:०६

अर्थ मन्त्रालयले निर्वाचनमा खटिने सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता बापतको रकम स्वीकृत गरेको छ ।

यसअघिको सुविधालाई दैनिक भ्रमण भत्ता (टिएडीए) मा मिलान गर्न पाउने व्यवस्था गरिएको पनि छ ।

सुरक्षाकर्मीले अरु कर्मचारीले जस्ताे भत्ता उपलब्ध गराउने स्थिति नहुने भएपछि  टिएडीएमा रुपान्तरण गर्ने गरी भत्तासमेत बृद्धि भएकाे अर्थ मन्त्रालयका प्रवक्ता ढुन्डिप्रसाद निराैलाले जानकारी दिए ।

उनका अनुसार ६ अर्ब ६१ कराेड रुपैयाँ  विनियाेजन भएकाे छ ।

स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको लागि उक्त रकम भत्ताकाे रुपमा खर्च गर्ने गरी विनियोजन भएकाे हाे ।

दुवै सुरक्षा निकायले यो रकम निर्वाचनका लागि आवश्यक सामग्री, सवारीसाधन, हतियार र भत्ता लगायतमा खर्च गर्नेछन् । यो रकम प्रहरीको भत्ता र म्यादी प्रहरीको सेवा सुविधामा प्रयोग खर्च गरिनेछ ।

निर्वाचनकै लागि भर्ना गरिएका एक लाख म्यादी प्रहरीका लागि पनि सरकारले चार अर्ब ३४ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ । म्यादी प्रहरी निर्वाचन अघि–पछि गरेर ४० दिनसम्म खटिनेछन् ।

उनीहरूकाे सेवा सुविधाका लागि प्रतिव्यक्ति ३० हजार २ सय ४० रुपैयाँ, रासन भत्ता ७ हजार २ सय रुपैयाँ र पोसाक भत्ता ६ हजार रुपैयाँ तोकिएको छ ।

म्यादी प्रहरीकाे सेवा अवधिमा निधन भएमा २० लाख रुपैयाँ राहतस्वरूप परिवारलाई दिइने सरकारले निर्णय गरिसकेको छ ।

नेपाली सेना र राष्ट्रिय अनुसन्धान केन्द्रका लागि पनि भत्ताकै लागि दुई अर्ब २९ करोड रूपैयाँभन्दा बढी रकम छुट्याइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*