पति र छोरीलाई लिएर भोट हाल्न पुगिन् करिश्मा
अभिनेत्री करिश्मा मानन्धरले शीतल निवास अगाडि रहेको केन्द्रमा स्थानीय निकाय निर्वाचनको लागि मतदान गरेकी छन् । भोट हाल्न उनी पति विनोद र छोरी कवितासँगै त्यहाँ पुगेकी थिइन् ।
स्थायी बसोबास ललितपुर गोदावरीमा भएपनि करिश्माले काठमाडौंको लाजिम्पाटबाट मतदान गर्दै आएकी छिन् । आफूले काठमाडौंको मेयरमा एमाले उम्मेदवार केशव स्थापित र उपमेयरकी उम्मेदवार सुनिता डंगोललाई मतदान गरेको उनले बताइन् ।
‘म एमालेमा नभएपनि स्थापितजीलाई नै भोट हाल्थेँ’ केही महिनाअघि एमाले प्रवेश गरेकी नायिकाले भनिन्, ‘छोरी र विनोदजीलाई मैले यसमा हाल्नूस भनेर भनिँन ।’
मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको प्रशंसा गर्दै करिश्माले उनी जोशसहितको युवा भएको बताइन् । बालेनजस्तै युवा राजनीतिमा आउनुपर्ने बताउँदै करिश्माले युवालाई राजनीतिमा स्थान दिनुपर्ने पनि बताइन् ।
कलाक्षेत्रका अन्य व्यक्तित्वले पनि अन्य दलबाट उम्मेदवारी दिएको तर्फ लक्षित गर्दै करिश्माले सबैको बाटो अलग भएपनि गन्तव्य एउटै भएको बताइन् । ‘सबैको गन्तव्य एउटै छ तर बाटो अलग । म अलग बाटोमा भएपनि सिनेमा क्षेत्रकै आवाज उठाउँछु । हामी एउटै परिवारका हौं’ उनले भनिन् ।