आफ्नै बुबाले अपहरण गरी भारतबाट नेपाल ल्याएको बालिकालाई सर्वोच्चले बुबाकै जिम्मा लगाइदिए

हेटौंडा खबर
June 3rd, 2022

आफ्नै बुबाले अपहरण गरी भारतबाट नेपाल ल्याएको बालिकालाई सर्वोच्च अदालतले बुबाकै जिम्मा लगाइदिएको छ ।

निजी अन्तर्राष्ट्रिय कानुन र प्राप्त कागजातका आधारमा बालिकाको जिम्मा बुबालाई नै लगाइदिएको हो । गत अप्रिल १५ मा भारतको नयाँ दिल्लीबाट अपहरणको शैलीमा सडक मार्ग हुँदै नेपाल ल्याइएकी मेहेर गोयललाई सर्वोच्च अदालतले बुबाको जिम्मा लगाइदिएको हो । भारतमा आमाको संरक्षणमा रहेकी बालिकालाई उनका बुबाले झुक्याएर नेपाल ल्याएका थिए ।यसरी आफ्नो संरक्षणमा रहेकी छोरीलाई बालिकाको बुबाले झुक्याएर नेपाल ल्याई अमेरिका लैजान खोजेको भन्दै बालिकाकी आमा कनिका गोयल अपहरण तथा शरीर बन्धक र बन्दी प्रत्यक्षीकरणको रिट बोकेर सर्वोच्च अदालत आएकी थिइन् ।

करिब एक महिना चलेको उक्त मुद्दामा सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै बालिकालाई उनकै बुबाको जिम्मा लगाउने फैसला गरेको हो ।बालिका अमेरिकी नागरिक रहेको, अमेरिकाको अदालतले बालिकाको अभिभावकत्व जैविक पिता करण गोयललाई दिएको र नागरिकता पनि अमेरिकन नै हुने कागजात पेस भएको भन्दै अमेरिकी नागरिक रहेका बुबाको जिम्मा लगाएको हो ।जेठ ६ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासमा परेको उक्त रिट हेर्दाहेर्दैमा राखिएको थियो । त्यसपछि जेठ ९ गते पेसीमा चढेको उक्त रिट जेठ ११ का लागि निसु (निर्णय सुनाउने)मा राखिएको थियो ।

निसुमा रहेको उक्त रिटमाथि न्यायाधीशद्वय मल्ल र चुडालको इजलासले रिट खारेज गर्दै बुबाको संरक्षकत्वमा रहने र अमेरिका लैजान पाउने फैसला गरेको हो । यद्यपि बालिकालाई अमेरिका नलगेसम्म आमासँग दैनिक चार घण्टा भेटघाट गर्न पाउने गरी निर्देशनात्मक आदेश जारी गरिएको थियो ।११ पृष्ठ लामो सर्वोच्चको संक्षिप्त आदेशमा मुख्यतः अपहरण गरिएको हो कि होइन, कानुनी दायित्व र अधिकार कसको छ र संरक्षकत्व कसलाई, किन दिने भन्ने सम्बन्धमा विवेचना गरिएको छ ।सर्वोच्चको संक्षिप्त आदेशको प्रकरण ४.१५ मा बालिकालाई अपहरण गरी नेपाल ल्याएको कुरा पुष्टी नहुने दाबी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*