मकवानपुर गोल्डकप- त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश

हेटौंडा खबर
२३ जेष्ठ २०७९, सोमबार २०:३०

त्रिभुवन आर्मी फुटबल क्लब हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा सशस्त्र प्रहरीको (एपीएफ) क्लबलाई टाइब्रेकरमा पराजित गर्दै त्रिभुवन आर्मी अन्तिम चारमा पुगेको हो । निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा रोकिएपछी टाइब्रेकरमा मार्फत खेलको टुंगो लगाइएको थियो । टाइब्रेकरमा आर्मी ५–४ गोलअन्तरले विजयी बन्यो ।

टाइब्रेकरमा आर्मीको तर्फबाट दीपक गुरुङ, सिमान्त थापामगर, सन्तोष केसी, कमलबहादुर थापा र दिनेश हेम्जनले गोल गरे । एपीएफको तर्फबाट नवीन लामा, सुदिप सिख्राकार, सनिस श्रेष्ठ, रवि थिङले गोल गरे ।

निर्धारित समयमा आर्मीको तर्फबाट ७६ औं मिनेटमा दिनेश हेम्जनले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । एपीएफका युवराज खड्काले दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेता टोलिले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक प्रदान गरिने छ भने विधागत उत्कृष्ट खेलाडीलाइ २५ हजार र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक जिल्लाका १० स्थानीय तह र जिल्ला समन्वय समिति रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*