हेटौंडा अस्पतालका यी डाक्टर जो १० बजेपछि पनि निजि क्लिनिकमा थिए, कारबाही गर्ला प्रशासनले ?

हेटौंडा खबर
२७ असार २०७९, सोमबार १३:३०

हेटौंडा अस्पतालका चिकित्सकले अस्पतालमा भन्दा बाहिरी क्लिनिकमा बढी समय दिने गरेको भन्दै चौतर्फी विरोध भैरहेपनि अझै अस्पतालका चिकित्सक आँखा छलेर अस्पतालमा कम र बाहिर बढी बस्ने गरेका छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालका चिकित्सक बाहिरी क्लिनिकमा बढी देखिन थालेपछि हेटौंडाका युवाहरुले स्वतन्त्र सामाजिक सुधार संघर्ष समिति बनाएर खबरदारी गरिरहेका छन् । तर सबैको आँखा छलेर अस्पतालका एनेस्थेटिस्ट (बेहोस बनाउने डाक्टर) सुबास बाबु लामिछाने अस्पताल नै नआई हेटौंडाको एक निजि क्लिनिकमा बिरामी जाँचेर बसेको फेला परेको छ ।

डाक्टर सुबास लामिछाने हेटौंडा अस्पतालका व्यवस्थापन समिति तर्फका चिकित्सक हुन् । उनले सोमबार १० बजे अस्पतालमा हाजिर गरेर ३ बजेसम्म अस्पतालमै रहनुपर्ने समयमा क्लिनिकमा बिरामी जाँचेर बसेको फेला परेको हो ।

उता अस्पतालका व्यवस्थापक सुरेन्द्र देव बडू भने आज डाक्टर सुबासको अन कल ड्युटी भएको र अनिवार्य उपस्थित नभए पनि हुने भन्ने गैर जिम्मेवार जवाफ दिएका छन् ।

अस्पतालमा नआएपछि उनै एनेस्थेटिस्ट डाक्टर सुबास लामिछानेका बारेमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटालाई यस बारे बुझ्दा अन कल ड्युटी भएपनि १० देखि ३ बजेसम्म अस्पतालमै बस्नुपर्ने बताए ।

‘हामीले काम भएपनि नभएपनि १० देखि ३ अस्पतालमै अनिवार्य बस्नु भनेका थियौं, बाहिर प्राक्टिस गर्न मिल्दैन म बुझ्छु’, उनले भने ।

यसअघि एक पत्रकार भेटघाट कार्यक्रममा हेटौंडा अस्पताल प्रशासनले आफ्ना चिकित्सक १० देखि ३ बजेसम्म  बाहिर भेटिए तत्काल कारबाही गर्ने बताएको थियो । तर डाक्टर सुबास बाबु लामिछाने भने आज १० बजे पछी पनि निजि क्लिनिकमै थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*