मकवानपुर गोल्डकपको तयारी पुरा, १२ वटा समुह सहभागि हुने

हेटौंडा खबर
February 9th, 2023

हेटौंडामा हुने पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

यही माघ २८ गतेबाट फागुन १० गतेसम्म सञ्चालन हुने खेलको तयारी पुरा भएको र खेलमा १२ वटा समुहको सहभागिता रहने आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने गोल्डकप हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुनेछ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गरिनेछ ।

खेलको विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने बताइएको छ ।