गौशाला २६ को तस्वीर सार्वजनिक गरेको आरोपमा एकजना पक्राउ

हेटौंडा खबर
January 18th, 2024

सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीया केशरमान राई रहेका प्रहरीको साइबर ब्यूरोले जनाएको छ । राईलाई पक्राउ गरेर विद्युतीय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न ७ दिन म्याद थप समेत भएको छ । पीडित गौशाला २६ को भन्दै तस्वीर राख्ने अन्यको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ । यसअघि यो विषयमा अनुसन्धान गरिदिन भन्दै ब्यूरोलाई पीडित गौशाला २६ ले उजुरी दिएका थिए ।

जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई अघिल्लो साता बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो । त्यसपछि लामिछानेका समर्थकहरुले पीडित गौशाला २६ भन्दै विभिन्न तस्वीर र व्यक्तिगत विवरणहरु सार्वजनिक गराएका थिए ।

जिल्ला अदालत काठमाडौंले १३ पुसमा क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । तीन वर्षभन्दा भन्दा बढी कैद सजाय हुने कसुरमा सजाय निर्धारणका लागि छुट्टै इजलास बस्नुपर्ने कानुनी व्यवस्था अनुसार बुधबारको मिति तोकिएको थियो ।