डेढ करोड बढी ठगी गर्ने पहाडी पक्राउ
सहकारी ठगी मुद्दाका फरार प्रतिवादी पुरुषोत्तम पहाडीलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले उनलाई ललितपुर महानगरपालिका वडा नं. ३ पाटनढोकाबाट चैत १५ गते नियन्त्रणमा लिएको हो।
उनीविरुद्ध सहकारी तथा गरिबी निवारण मन्त्रालय हेटौडाको पत्र र सुनिता कुमारी श्रेष्ठ लगायतको जाहेरीका आधारमा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो। पहाडीमाथि हालसम्म २० जनाले किटानी जाहेरी दिएका छन्।
प्रहरीका अनुसार उनले कुल १ करोड ६२ लाख ६५ हजार ९ सय २० रुपैयाँ बिगो बराबरको ठगी गरेको देखिएको छ। पक्राउ परेका पहाडीलाई ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।



