प्रचण्ड-नेपाललाई कमल थापाकाे कटाक्ष–अरूलाई खुवाउन पालेको बाघले एकदिन आफैंलाई खानसक्छ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले २०६३ सालपछि कंग्रेस र कम्युनिष्टले न्यायपालिका लगायत सम्पूर्ण राज्य संयन्त्रमा भागबण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेको भन्दै अहिले अपवाद बाहेक न्याय दुर्लभ भएको बताएका छन् ।
नेकपाको आधिकारिकता दावी गर्दै निर्वाचन आयोग गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालतर्फ कटाक्ष गर्दै उनले शनिबार आफ्नो फेसबुकमा स्टाटसमा यस्तो लेखेका हुन् ।
उनले लेखेका छन्,’ तत्कालिन प्रम प्रचण्डको प्रत्यक्ष दवाव र प्रभावमा त्यसबेला विना सनाखत कानुन विपरित आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो, प्रचण्डले त्यही नियति भोग्नु नपरोस् मेरो शुभकामना छ’ ।
यस्तो छ उनको स्टाटस
पार्टी वैधानिकताको दावि गर्दै निर्वाचन आयोगमा नेकपा अध्यक्ष प्रचण्डले निवेदन दिदैं गर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु।तत्कालिन प्रम प्रचण्डको प्रत्यक्ष दवाव र प्रभावमा त्यसवेला विना सनाखत कानुन विपरित आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो।प्रचण्डले त्यही नियति भोग्नु नपरोस।मेरो शुभकामना छ।
२०६३सालपछि कंग्रेस र कम्युनिष्टले न्यायपालिका लगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका छन्। त्यसैले अपवाद बाहेक न्याय दुर्लभ भएको छ।
अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैलाई खानसक्छ भने चेतना सडकको चिसो भुइँमा बसेका प्रचण्ड/नेपाललाई भएकै होला ।


