माधव नेपाललाई झट्का वाला ‘बर्थ डे गिफ्ट’ !

हेटौंडा खबर
March 7th, 2021

प्रधानमन्त्री कपी शर्मा ओलीलाई जस्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पनि सर्वोच्चले जन्मदिनको दिन झट्का दिएको छ । यस अघि सर्वोच्चले फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनकै दिन संसद पुन:स्थापना गरेको थियो।

आज आइतबार माधवकुमार नेपालको जन्मदिन । जन्मदिनकै दिन सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा खारेज गरेर माधव कुमार नेपाललाई झट्का दिने खालको ‘गिफ्ट’ दिएको छ।

सर्वोच्च अदालतले ओली-प्रचण्ड नेतृत्वको नेकपा खारेज गर्दै  ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई आधिकारिकता दिएको हो।  सर्वोच्च अदालतले तत्कालीन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साबिककै अवस्थामा फर्काएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुन् भने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हुन्।

सर्वोच्चको फैसलासंगै अब ओली र दाहाल–नेपाललाई नयाँ दल दर्ताको बाटो खुलेको छ ।

अदालतले एमाले र माओवादीलाई साबिककै अवस्थामा फर्काएपनि आयोगमा २०७६ भदौ १५ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र २०७७ श्रावण २० गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) दर्ता छ ।

निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्र खाली भएपछि मोरङकी पूर्वएमाले कार्यकर्ता सन्ध्या तिवारीले आफ्नो नाममा नेकपा (एमाले) दर्ता गराएकी थिइन् भने पूर्वमाओवादी नेता गोपाल किराँतीले आफ्नो नाममा नेकपा (माओवादी केन्द्र) दर्ता गरेका थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*