“आमा”
शरीरमा पसिना बगाएर पनि
माया र आशिर्वाद दिएर
नअघाउने मेरी आमा
भन न तिम्रो मनभित्र
कति गहिरो प्रेमको समुद्र छ ?
म सम्झिरहेको छु ती दिनहरु
तिमी दिनभर बारीमा
माटोको डल्ला फोडेर
थकित भई आउँदा पनि
हामीसँग अङ्कमाल गर्थ्यौ
साना- भाइबहिनीहरु
तिम्रो पछि पछि लाग्थे
तिमीले पटुकीमा नखाई राखेको
रोटी दिन्थ्यौ
मुसुक्क मुस्कुराउँदै
हामीले खाउञ्जेल हेरिरहन्थ्यौ
आमा भन न
तिम्रो मनभित्र
कति गहिरो प्रेमको समुद्र छ ?
आमा
तिम्रो कतिवटा पेट छ ?
तिम्रो भोक कसरी मर्छ?
दिनभर काम गरेर पनि भोक लागेन ?
जवाफमा मेरी आमा भन्ने गर्थिन !
खाएर बचेको बाबु…
मनमनै सोच्थेँ,
कति मीठो झुठ !
आमा भन न
तिम्रो मनभित्र
कति गहिरो प्रेमको समुद्र छ ?
मुटुभरी मायाको पुलिन्दा बोकेर
स्नेहको हर्लिक्स खुवाउनु भयो
हौसलाको च्ववनप्रास खुवाउनु भयो
धर्तीमा अथकित हिड्न सिकाउनु भयो
आमा भन न
तिम्रो मनभित्र
कति गहिरो प्रेमको समुद्र छ ?
मेरी आमा !
तिमी स्नेहको आकाश बन्यौ
ममताको धर्ती बन्यौ
लड्थेँ म, दुख्थ्यो तपाईंलाई
आमा भन न
तिम्रो मनभित्र
कति गहिरो प्रेमको समुद्र छ ?
आमा ! म सम्झिरहेछु
सानोमा म बिरामी हुँदा
मेरो टाउको सुम्सुमाउँदै
हातगोडामा तेल लगाउँदै
रातभरि तिम्रा आँखा
रसिला हुन्थे
अनिदा हुन्थे
आमा भन न
तिम्रो मनभित्र
कति गहिरो प्रेमको समुद्र छ ?
कहिँ कतै जाँदा
म आउने बाटाभरि
बिच्छ्याइएकाे त्यो मुटुको कार्पेट
कसरी भुल्न सक्छु म ?
छोरो न भोकै छ कि भनेर
मीठो सन्त्रास बोकी
आँखाको दैलो खोली बसिरहने
मेरी आमा भन न
तिम्रो मनभित्र
कति गहिरो प्रेमको समुद्र छ ?
आमा!
यति गहिरो प्रेमको समुद्र
शितल निवासलाई पनि
सिकाइदेऊ न है !