पेट्रोल व्यवसायीले ढुवानी बन्द गरे

हेटौंडा खबर
March 4th, 2022

नेपाल आयल निगमले बिहीबार रातिबाट इन्धनको मूल्य बढाए पनि प्रतिशतमा बिक्रेतालाई दिइँदै आएको कमिसन पुरानै यथावत् राख्ने निर्णय गरेपछि व्यवसायीहरुले  देशभर नै इन्धन ढुवानी बन्द गरेका हुन्।

इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको झोकमा पेट्रोलियम व्यवसायीहरुले अत्यावश्यक वस्तुको रुपमा रहेको इन्धन ढुवानी बन्द गरेका छन् ।निगमका निमित्त नायव कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार बिक्रेताहरुले मूल्य वृद्धिको आधारमा प्रतिलिटर ३.१४ प्रतिशत कमिसन पाउँदै आएका थिए ।

बिहीबार रातिद देखि नयाँ मूल्य लागू भएपछि प्रतिशतको आधारमा कमिसन वृद्धि हुँदा व्यवसायीलाई प्रतिलिटरमा थप ०.१५ पैसा कमिसन दिनुपर्थ्यो । तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दैनिक उकालो लाग्दा निगमको नोक्सानी चुलिएको छ । जसले गर्दा निगम सञ्चालक समितिले बिक्रेता कमिसन हाललाई फागुन ७ गते कायम भए अनुसार नै यथावत राख्ने निर्णय गरेको थियो । त्यसको विरोधमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले डिपोबाट इन्धन ढुवानी रोकेको हो ।

व्यवसायीहरुले इन्धन ढुवानी नगरे अन्य विकल्प प्रयोग गरेर पनि आपूर्ति सहज बनाइने निगमले जनाएको छ । थानकोट डिपोबाट औसतमा दैनिक ७ सय देखि ८ सय किलोलिटर पेट्रोल र १ हजार देखि १ हजार १ सय किलोलिटर डिजेल बिक्री/वितरण हुन्छ । एक दिनको ढुवानी अवरोधले पम्पहरुमा सर्वसाधरणको लाइन बढ्ने जानकार बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*