प्रेस चौतारीको नेतृत्वका लागि ७ जना आकांक्षी

हेटौंडा खबर
March 11th, 2022

नेकपा एमालेनिकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको नवौं महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरु भएको छ । नयाँ नेतृत्व निर्वाचित गर्ने महाधिवेशनमा सहमतिकै आधारमा कमिटी बनाउने तयारी नेताहरूले गरिरहेका छन् ।

चौतारीको नेतृत्व हात पार्न आकांक्षीहरूले नेताहरूसँग लबिइङ गरिरहेका छन् । अध्यक्षका लागि अहिलेकै अध्यक्ष गणेश बस्नेत फेरि दोहोरिने प्रयास गरिरहेका छन् । अहिलेका उपाध्यक्ष गणेश पाण्डेले नेतृत्व हात पार्ने गरी नेताहरूलाई आगामी योजना र कार्यक्रम नै पेश गरेका छन् ।

माधव नेपाल, टीका विष्ट अध्यक्षका लागि कसरत गरिरहेका छन् । अहिलेका महासचिव राजेश राईले आकांक्षा देखाए पनि धेरै आकांक्षी हुँदा फिर्ता लिन सक्ने सम्भावना रहेको एक नेताले बताए । प्रमोद दाहाल र दीपक पाण्डे पनि अध्यक्षका लागि आकांक्षी छन् ।

महासचिवमा अहिलेका उपमहासचिव हिरामान लामा, कोषाध्यक्ष ईन्द्र आचार्य, केन्द्रीय सदस्य प्रकाश सिलवाल र चेतन अधिकारीले आकांक्षा देखाएका छन् ।

अध्यक्ष तथा पदाधिकारीका आकांक्षीहरूका लागि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ शक्ति केन्द्र बनेका छन् । केही दिनअघि देखि नै आकांक्षीहरूले पृथ्वीसुब्बालाई भेटेर आफ्नो पक्षमा निर्णय गर्न आग्रह गरिरहेका छन् ।

‘केही दिनअघि देखि नै चौतारीको महाधिवेशनलाई व्यवस्थित बनाउने र योग्य पात्रलाई नेतृत्व ल्याउनेबारे छलफल भइरहेको छ,’ गुरुङ निकट स्रोतले भन्यो, ‘आकांक्षीहरूले आफूले नेतृत्व पाउनुपर्ने दाबीसहित योजना पनि प्रस्तुत गरिरहेका छन् । सर्वसम्मत नेतृत्व चयन गर्नेबारे पहल भइरहेको छ ।’

एमाले प्रचार विभाग प्रमुखसमेत रहेका ओलीनिकट पृथ्वीसुब्बाको निर्णयले प्रभाव पार्ने भएकाले पोखरा आउने आकांक्षीले उनलाई भेट्ने गरिरहेका छन् । आकांक्षीहरूको नजर केपी शर्मा ओलीतिरै छ ।

‘अध्यक्ष ओलीको आशिर्वाद जसले प्राप्त गर्छ, उसैले नेतृत्व हात पार्ने भएकाले कसले फकाउन सक्छ, कहाँबाट मिलाउन सकिन्छ भनेर लागिरहेका छन्,’ चौतारीकै एक नेताले भने, ‘जति धेरै आकांक्षी भए पनि नेताहरूकै खल्तीबाट कमिटी बन्ने भएकाले निर्वाचन हुने सम्भावना ज्यादै कम छ ।’ पार्टीको शुभेच्छुक संस्था भए पनि लोकतन्त्र र स्वच्छ प्रतिस्पर्धाको वकालत गर्ने पत्रकारहरूकै चुनावमा खल्तीबाट नेतृत्वसहित पदाधिकारी र केन्द्रीय कमिटी छानिनु दुखद भएको एक आकांक्षीले बताए ।

महाधिवेशन संयोजक गणेश पाण्डेले भरसक सहमति गर्ने तर सहमति नजुटे निर्वाचनमा कसरी जाने भन्ने तय भइनसकेको जानकारी दिए । आजैबाट सुरु हुने बन्द सत्रले केन्द्रीय कमिटीको संख्या, संरचना र अबको बाटो तय गर्ने जानकारी दिए ।

चैतारीमा अध्यक्षसहित ४ उपाध्यक्ष, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना रहने प्रस्ताव गरिएको । केन्द्रीय समिति १५१ सदस्यीय रहने प्रस्ताव छ । केन्द्रीय कमिटीको संख्या अझै घटाउनेबारे पनि छलफल चलिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*