प्रधानन्यायाधीश राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव प्रतिनिधि सभामा पेस

हेटौंडा खबर
March 13th, 2022

प्रधानन्यायाधीश चेलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव प्रतिनिधि सभामा पेश भएको छ। आइतबारको बैठकमा प्रस्तावकमध्येका एक देव गुरुङले प्रस्ताव पेश गरेका हुन्।

गत फागुन १ गते तीन जना प्रस्तावकहरु देव गुरुङ, पुष्पा भुसाल र जीवनराम श्रेष्ठ र ९५ जना समर्थक रहेको महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता गरिएको थियो। महाभियोग प्रस्तावमा २१ बुँदा उल्लेख गरिएको छ। जसमा राणाले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक स्वतन्त्रता र जिम्मेवार न्यायापालिकाको जगेर्ना गर्न नसकेको उल्लेख गरिएको छ।

‘हामी तीन जना प्रस्तावक र ९५ जना समर्थक रहेको महाभियोग प्रस्ताव दर्ता गरेका थियौँ। त्यो प्रस्ताव यो सदनबाट स्वीकृत होस्। र महाभियोग मार्फत कार्यक्षमताको अभाव देखिएको, न्यायिक आचरणको अभाव देखिएको र सर्वोच्च अदालतको नेतृत्व गर्न नसक्ने प्रधानन्यायाधीशलाई पदमुक्त गरियोस् भन्ने आशा अपेक्षाका साथ यो प्रस्ताव प्रस्तुत गरेका छौँ,’ गुरुङले भने।

फागुन २२ गते बसेको प्रतिनिधिसभाको बैठकले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरिसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*