राष्ट्रपतिसँग साउदी अरबका विदेशमन्त्रीको भेट

हेटौंडा खबर
March 15th, 2022

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति कार्यालय, महाराजगञ्जमा भएको भेटमा नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित एवं चासोका विषयमा विचारविमर्श भएको थियो । त्यस अवसरमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

नेपाल र साउदी अरेबिया बीच १५ मार्च १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीचको सुमुधर सम्बन्ध उच्चस्तरमा हुने यस्ता भ्रमणले अझ सुदृढ हुँदै गएको छ भने शान्तिपूर्ण सहअस्तित्व, मैत्री र सहयोगका पाँच सिद्धान्तका आधारमा द्विपक्षीय सम्बन्ध घनीभूत हुँदै गएको छ ।

दुवै राष्ट्रले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तप्रति प्रतिबद्ध प्रतिबद्धता र निष्ठा व्यक्त गरेका छन् र मानव जातिको साझा हितका लागि उक्त विश्व संस्थालगायत अन्य अन्तर्राष्ट्रिय मञ्चमा मिलेर काम गर्दै आएका छन् ।

एक दशकअघि साउदी अरबमा नेपाली कामदारले रोजगारीका अवसर पाएपछि दुई देशका जनताबीचको सम्बन्ध विस्तारै बढ्दै गएको छ । चार लाखभन्दा बढी नेपालीले साउदी अरबमा श्रम गरिरहेको वर्तमान सन्दर्भमा भएको विदेशमन्त्रीको भ्रमणले नेपाली आप्रवासी कामदारका सेवासुविधा र अवसरमा बढोत्तरी हुने अपेक्षा गरिएको छ ।

नेपालीको कामप्रतिको समर्पण, निष्ठा, इमान्दारिताको साउदीका जनताले सराहना गरेका छन् जसले रोजगारीको सम्भावनालाई बढाएको छ । कोभिड–१९ को महामारीका बेला पनि साउदी सरकारले उदारतापूर्वक नेपाली कामदारलाई आवागमनलगायत काममा सहजीकरण गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*