बागमतीका ६ जिल्लामा बर्ड फ्लु

हेटौंडा खबर
April 3rd, 2022

पोल्ट्रीको राजधानी मानिने चितवनमा पन्छीमा लाग्ने संक्रामक रोग ‘बर्ड फ्लु’ बढ्दो क्रममा भेटिएको छ। एकैपटक आधा दर्जन खोरहरूमा बर्ड फ्लु देखिएपछि ती कुखुरा नष्ट गर्ने कामलाई तीव्र पारिएको छ।

यस वर्ष २५ माघमा चितवनको राप्तीमा पहिलोपटक बर्ड फ्लु देखिएको थियो। अहिले भरतपुर र खरहनीमा देखिएको छ। यो वर्ष हालसम्म चितवनका सात खोरमा बर्ड फ्लु देखिइसकेको छ।

भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र चितवन डा. प्रभात न्यौपानेका अनुसार चितवनमा किसानले ठूलो परिमाणमा क्षति व्यहोर्दैछन्। उनले भने, ‘हामी काम गर्दै छौँ, ठ्याक्कै तथ्यांक त भन्न नसकिएला, तर ५० हजारभन्दा बढी कुखुरा नष्ट हुँदै छ। अन्डा र दानाको परिमाण पनि ठूलो छ।’ उनका अनुसार दुई हजारभन्दा बढी कुखुरापालन भएका खोरहरूमा अहिले बर्ड फ्लु देखिएको छ।

चितवनसहित बागमती प्रदेशका ६ जिल्लामा बर्ड फ्लु देखापरेको छ। यहाँको कृषि तथा पशुपक्षी विकास मन्त्रालय हेटौँडाका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर र सिन्धुपाल्चोकमा बर्ड फ्लु देखिएको हो।

मन्त्रालयका सहसचिव डा. शरणकुमार पाण्डेका अनुसार  तत्काल बर्ड फ्लु देखिएको ठाउँमा विज्ञ केन्द्रमार्फत पन्छी नष्ट गर्ने काम भइरहेको छ। ‘अहिले ओसारपसार बन्द गर्नुपर्ने पहिलो प्राथमिकताको विषय हो,’ उनले भने, ‘हामी सबै पन्छी फार्ममा पुगेर टेस्ट गर्ने गरी योजना पनि बनाइरहेका छौँ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*