सर्वत्र आलोचनापछि प्रचण्डले हटाए कुलमानसहितको चुनावी पोस्टर

हेटौंडा खबर
April 13th, 2022

नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको चुनावी पोष्टरमा राखिएको नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको तस्विर हटाएको छ । बुधबार बिहान पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको सो डिजिटल पोष्टर प्रचण्डको सचिवालयले हटाएको हो ।

सत्ता गठबन्धनकै पार्टीले निर्वाचन आचारसंहिता नै उल्लङ्घन गरेर सरकारी निकायका व्यक्तिको तस्वीर चुनावी प्रचारमा प्रयोग गरेपछि सर्वत्र आलोचना भएको थियो । त्यसपछि घिसिङले सो तस्वीरबारे आपत्ति जनाएका थिए । घिसिङले सरकारको कुनै निकायमा रहेको व्यक्तिलाई कुनै जानकारी नै नराखी प्रचार गरिनु गलत भएको भन्दै तत्काल हटाउन आग्रह गरेको बताए ।

‘यो कुरा मलाई थाहा थिएन । मेरो तस्वीर हटाइदिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको सचिवालयलाई भनेको छु । हटाउँछु भनेका छन् । निर्वाचन आचारसंहिता र कर्मचारी आाचारसंहित दुवैले मेरो तस्वीर राख्न दिंदैन । थाहा पाउने वित्तिकै हटाउन भनेको छु, यति बेला हटाइसकेहोलान’ घिसिङले भने ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले निर्देशक घिसिङले पोस्टर हटाउन आग्रह गरेको स्वीकार्दै भने, ‘अरु साथीले प्रचण्डको सामाजिक सञ्जाल चलाउँदा गडबड गरेछन् ।’  त्यसको केही समयपछि प्रचण्डको फेसबुक पेजबाट घिसिङको तस्बिर अंकित चुनावी पोस्टर हटाइएको छ । तर, प्रचण्डकी छोरी गंगा दाहालको फेसबुक पेजमा भने सो पोस्टर कायमै छ ।

प्रचण्डले राखेको प्रचार सामग्रीमा प्रचण्डसहित माओवादी नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्वीर राखेर ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*