चुनाव सार्न आग्रह गर्दै विप्लवहरु शीतल निवास गएको दाबी

हेटौंडा खबर
April 18th, 2022

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग गोप्य भेटघाट गरेको खुलासा भएको छ । प्रधानमन्त्री,गृहमन्त्री र प्रमुख दलका नेताहरुलाई दिन बिराएर भेटिरहेका विप्लवका नेताहरुले राष्ट्रपतिलाई भेटेर चुनावमा आउनने वातावरण बनाइदिन आग्रह गरेको खुलेको हो ।

आज पार्टी मुख्यालय पेरिसडाँडामाा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा भाग लिने वातावरण बनाउन आग्रह गर्दै विप्लवका नेताहरुले राष्ट्रपतिदेखि निर्वाचन आयोगको हुँदै एमाले अध्यक्ष केपी ओलीसम्मलाई भेटघाट गरिरहेको बताउनुभएको हो ।

विप्लव समूहलाई देखाएर सत्तारुढ गठबन्धन चुनाव सार्ने षड्यन्त्रमा लागेको एमालेका नेताहरुको आरोप खण्डन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘विप्लवहरुले राष्ट्रपतिसँग भेटेको हाम्लाई थाहा छ । निर्वाचन आयोगमा गएर भेटेको पनि हाम्लाई थाहा छ । बालकोट गएर केपी ओलीलाई भेटेको पनि थाहा छ’,प्रचण्डले भन्नुभयो, ‘चुनाव सार्दिनुपर्यो भनेर उहाँहरुले भन्दै गर्दा हामी देशभरि चुनावी अभियानमा हिँडिराखेका छौँ । त्यसकारण उहाँहरुलाई देखाएर चुनाव रोक्ने होइन, उहाँहरुलाई पनि चुनावमा आउन सकारात्मक वातावरण कसरी बनाउने भन्ने मात्रै हो,कसैलाई भ्रम नहोस् ।’

तत्कालीन प्रधानमन्त्री केपी ओली र विप्लव समूहबीच भएको तीन बुँदे सहमति कार्यान्यवन गरेर उनीहरुलाई चुनावमा ल्याउने परिस्थिति बनाउन आफूहरु गम्भीर रहेको पनि प्रचण्डको भनाइ छ । त्यसबारे छलफल चलिरहेको र सकारात्मक ढंगले कुराकानी भैरहेको पनि उहाँले बताउनुभयो ।

‘विप्लवजीहरु चुनावमा आउने भनेर सबैसंग भेटघाट पनि गर्नुभयो र सबैसंग कुराकानी पनि भैराखेको छ । केपी ओली र विप्लवहरुको बिचमा तीन बुँदे सहमति जो भएको थियो त्यसलाई हामीले सकारात्मक भनेर त्यतिबेला नै भनेर समर्थन गरेका थियौँ’, प्रचण्डले भन्नुभयो, ‘अहिले पनि उहाँहरु निर्वाचनमा आउन चाहेको हुनाले सकेसम्म सबैले मिलेर सकारात्मक वातावरण बनाउनुपर्छ भन्ने हाम्रो नीति छ । समझदारी पनि छ ।’

विप्लव समूहसँग माओवादी केन्द्रको चुनावी तालमेलको सम्भावनाबारे सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले विपल्वहरुको स्वतन्त्रताको कुरा हुने बताउनुभयो । ‘अब चुनावमा आइसकेपछि कता समर्थन गर्नुहुन्छ, कता लाग्नुहुन्छ उहाँहरुको स्वतन्त्रताको कुरा हो । पृष्ठभूमिको कारणले विरासतको कारणले माओवादीभन्दा बाहिर जानसक्नुहुन्छ भन्ने मलाई लाग्दैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*