माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक नगर्ने, स्थानीय तहले आफैं बनाउने

हेटौंडा खबर
April 25th, 2022

स्थानीय तह निर्वाचनका लागि अधिकांश ठूला पार्टीले तामझामका साथ घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । तर माओवादी केन्द्रले भने केन्द्रबाट घोषणा पत्र वा प्रतिवद्धता पत्र नबनाउने भएको छ ।

माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि गत चैत २२ मा अपिल सार्वजनिक गरेको थियो । त्यही अपिल अनुसार स्थानीय तहले आ–आफ्नो घोषणा पत्र बनाउने बताउँछन् माओवादी केन्द्रका नेता हरिबोेल गजुरेल । ‘अपिल अनुसार स्थानीय तहले आ–आफैं घोषणा पत्र बनाउँछन्, हामी केन्द्रबाट जारी गर्दैनौं,’ उनले भने ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले पनि स्थानीय तहले अपिललाई मार्गदर्शन मानेर घोषणा पत्र बनाउने बताए । ‘हाम्रो घोषणा पत्र आउँदैन,’ उनले भने, ‘हामीले पहिले नै अपिल बाँडेका छौं । अब त्यही अनुसार स्थानीय तहले घोषणा पत्र बनाउँछन् ।’ ढकालले स्थानीयस्तरबाटै घोषणा पत्र बनाउन स्थानीय कमिटीलाई अधिकार दिइएको जानकारी दिए ।

माओवादीले जारी गरेको अपिलमा टोल–टोलमा सहकारी र घर–घरमा रोजगारीको व्यवस्था गर्ने, एक टोल एक उद्यम–एक टोल एक उत्पादन, बेरोजगारी अन्त्य, गरिबी निवारण कार्यक्रम लागू गर्नेजस्ता नीतिगत विषय समेटिएका छन् । ती नीति अन्तर्गत नै रहेर माओवादीका कमिटीहरुले घोषणा पत्र बनाउने बताइएको छ ।

माओवादी केन्द्रका नेता वर्षमान पुन संघीयतामा पनि स्थानीय चुनावको घोषणापत्र केन्द्रबाट आउनु उचित नहुने बताउँछन् । उनले भने, ‘यत्रो संघीयताको व्यवस्था गर्दा पनि पालिकाको घोषणा केन्द्रले बनाउँदा फेरि केन्द्रिकृत मानसिकता, तलका जान्दैनन्, बुझ्दैनन्, माथि नै हामी जान्ने छौं, हामीले नै ‘डिक्टेट’ गर्नुपर्छ भने जस्तो हुन्छ ।’

‘हामी केन्द्रबाट घोषणा–पत्र, प्रतिवद्धता–पत्र ल्याएर हस्तक्षेप गर्दैनौं । जसले कार्यान्वयन गर्ने हो, जसले नजिक बसेर काम गर्ने हो, उसैले तयार गरोस् र भोलि ऊ जवाफदेही होस्,’ पुनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*