सत्तागठबन्धनबीच सहमति, महानगर र उपमहानगरको भागबण्डा टुंगियो
सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।
आज बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । ६ महानगर र ११ उपमहानगरमा दलिय गठबन्धनबीच सिट बाँडफाँटको टुंगो लागेको छ,’ उनले भनिन्, ‘सम्पूर्ण पालिकामा पनि चुनावी तालमेल गर्ने सहमति भएको छ ।’
कांग्रेसले ६ महानगरमध्ये तीन महानगर पाएको छ । कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरपालिकाको मेयर पाउने छ भने पोखरा, चितवन र वीरगञ्जमा उपमेयर पाउनेछ । यसैगरी कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाको मेयर पाउनेछ ।
यस्तै, चितवन महागरपालिका माओवादी केन्द्र, पोखरा एकीकृत समाजवादी र वीरगञ्ज महानगरपालिकाको मेयर जसपाले पाउने सहमति भएको छ । यसैगरी जीतपुर-सिमरा र घोराही उपमहानगरपालिकाको मेयर माओवादी केन्द्रले पाउँदा एकीकृत समाजवादीले हेटौँडा उपमहानगरपालिका र जसपाले जनकपुर उपमहानगरपालिकाको मेयर पाउने सहमति गठबन्धनमा भएको छ ।


